उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

व्यापार/व्यवसाय र यातायातमा निषेधाज्ञा खुल्ने, यातायातमा जोरबिजोर लागू गरिने

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार १८: २१

ईहिमालयन

२४ भदौ, काठमाडौं । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । 

सार्वजनिक सवारी  साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन  ।

पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार  मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको ईहिमालयनलाई बताए । उनले भने, ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।’

भदौ ४ गतेदेखि लगातार दुई हप्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएको काठमाडौं उपत्यकामा भदौ १७ गतेदेखि २४ गतेसम्म भने टेक अवे, होम डेलिभरी र निर्माण सामग्रीका पसल पनि सञ्चालन गर्न दिइएको थियो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई थप फैलिनबाट रोक्न भन्दै प्रमुख जिल्ला अधिकारीहरुले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएका थिए । तर निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको दिन भदौ २४ गते काठमाडौं उपत्यकामा ४६४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा मात्र ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ संक्रमित भेटिएका छन् ।

रोगबाट जोगाउन भन्दै सरकारले मानिसलाई काम गर्नसमेत जान नदिई घरभित्रै सीमित गर्दा कमाइ खाने वर्ग भोकभोकै पर्ने स्थिति आएको भन्दै विरोध हुँदै आएको थियो । त्यस्तै उद्योगी व्यापारीले पनि कोरोना स्वास्थ्य सावधानी अपनाएर व्यवसाय खोल्न नदिए अर्थतन्त्र जटिल मोडमा पुग्ने भन्दै निषेधाज्ञामा पुनर्विचार गर्न आग्रह गर्दै आएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *