गाउँ र घरपरिवार जोड्ने पुल हो दशैँ

दशैँ नभए जिन्दगानी…

प्रकाशित : २०७७ कार्तिक ८ गते शनिबार १० : ०५

ईहिमालयन

काठमाडौं, कार्तिक ८ ।  काठमाडौंबाट दशैंका लागि घर जाने सोच बनाउँदै थिएँ, यस्तैमा झ्वाट्ट लाग्यो – यतिबेला  गाउँका साथीहरू ससुराली जाने सोच बनाइरहेका होलान्।

विदेशमा पनि छन् कतिपय साथीभाइ। तिनको लागि ‘घर : एक सपना’ भए पनि घर-संसारमै रहेर व्यवहारको रकेट चलाइरहेकाहरूका लागि मन फेर्ने लोकेसन ससुराली बन्छ। बिहेअघि चोकमा बारम्बार भेट हुने साथीहरू साइकलमा बूढियालाई पछिल्तिर बोकेर ससुरालीतिर गुडेको दृश्य धेरै पटक देखेको छु।

अहिले साइकलको ठाउँ मोटरसाइकलले लियो होला, फरक त्यत्ति ! उनीहरूसँग बसेर एक झमट अनुहार नियाल्न र स्कुले दिनका बदमासी र पाप-पुण्यका लेखाजोखा गर्न नपाएको युग भएछ।

समयसँगै मान्छेका सरसंगतिका सीमा फुक्दै जान्छन् कि साँगुरिँदै?

हेर्दा सामान्य लाग्ने कुरा। मलाई भने समय शहरको सपिङ मलको धुरी नाघेर धेरै पर उडिसकेझैं लाग्यो। शहरमा अहिलेसम्म म के खोज्दै भौतारिँदै छु, अन्ततः सपना त रै’छ घरसम्म पुग्ने! परिवारसँग सुस्ताउने ! ती साथीहरू भने फेरि पनि भेटिने छैनन्। बूढियालाई वाहनमा लिएर ससुराली जाने साथीहरूले लालाबालाको रेखदेखमा आफूलाई खियाइरहेको थप दृश्यको साक्षी बन्नेछु म।

कहिलेकाहीँ सानो जस्तो कुरोले दिमागको गुणमा अण्डा पार्छ र पूरा दिमाग विशाल अण्डा जस्तो सुन्निएर फुटिदिन्छ छ्याल्‍लब्याल्ल। अनि आफ्नै विचारको गन्धमा उकुसमुकुस भइन्छ। सोचका अनेक खुड्किलामा पाइला अनायासै चढ्छन्-झर्छन्।

दशैंमा बुबाले नयाँ लुगा नकिनिदिएको करिब एक दशक भएछ। अथवा भनूँ, मलाई नयाँ लुगा किनेर दिनुपर्ने जरुरी नरहेको त्यति समय भएछ। त्यसबेलादेखि बुवा-आमालाई बरु मैले लुगा किन्नुपर्ने फरक जिम्मेवारी आएको बुझ्नुपर्छ। बुवाले हरेक वर्ष रुटिनमा बाँधिएर चार सन्तानको ज्यान र मनसम्मै हरियाली ल्यादिनुहुन्थ्यो, नयाँ लुगाले।

केटाकेटी बेलामा नयाँ लुगाको कडा गन्ध महँगो अत्तरभन्दा कम कहाँ लाग्थ्यो र! मास्टरको टेलरमा जाँदा नयाँ कपडाका टुक्राहरू खेलाउन पाउँदा पनि अपार आनन्द मिल्ने। मानौं दुर्लभ मोती हुन् ती! डर र धक मानीमानी मास्टरसँग ‘यो टुक्राटाक्री कपडा लैजाँदा हुन्छ?’ भनेर सोध्दा ठूलै कुराको प्राप्तिमा अक्कर पहाड फोडेझैं लाग्ने। कपडाको ब्यौला-ब्यौली बनाएर र केटाकेटी मिसिएर आफैं बूढाबूढी बनेर पनि खेलिएकै हो ती दिनहरूमा।

दशैँ विस्तारै अरूहरूको लागि मनाउन थालिँदो रै’छ। विवाहित जीवनमा रहेकाहरू ‘अहिले त तँलाई केही छैन, जिन्दगी सुरु हुनै बाँकी छ’ भनेर अविवाहित अवस्थालाई ठुँग्छन् र हाउगुजी देखाउँछन्। परिवार र घरगृहस्थीको कुरामा सुविधा पनि छ, संयोजन गर्नुपर्ने दुविधा पनि साथै हुन्छ। म भने दशैंले आफूलाई रमाइलो नदिए पनि बुवा-आमाकै खल्लोपन मेट्न गाउँ पुग्ने गर्छु। दशैं अर्थात् खुसी र उल्लास!

अरूहरूको जस्तै म पुग्दा घरमा बा-आमाको दशैँ आउँछ, खुसी भित्रन्छ। यसैले अफिसमा दशैं बिदाको ‘सिस्टम’मा आफूले बिदा नपाउने समय परे पनि जोडबलले घर जाने प्रयासमा हुन्छु सधैं। एक वर्ष जान पाउने र अर्को वर्ष शहीद बनेर काममा घोटिनुपर्ने नियमलाई ‘वर्ष दिनभरि दुःख गर्दा पनि दशैँसमेत घरपरिवारसँग बसेर मनाउन नपाउने जिन्दगी र जागिर के काम भन्ने’ तर्कले चुनौती दिन्छ। भलै, मिडियाको काममा यस्तो केटौले तर्क व्यावहारिक हुन्न। र, पनि दशैँ पुल हो गाउँ र घरपरिवारसँग मेरो। दशैँ नभए जिन्दगानी काँडासरी हो मेरो लागि।

यसपालि पनि म दशैं मनाउन पुग्दै छु त्यही उदयपुर। जहाँ बूढियासहित टीका लगाउन ससुराली जाने हतारमा साथीहरू मसँग बोल्न भ्याउने छैनन्। कति भाइबहिनीहरूले चिन्न सक्ने छैनन्। उनीहरू मेरा कुन चाँहि साथीका भाइबहिनी हुन्, म पनि चिन्न सक्ने छुइनँ।

दशैँको शुभकामना तपाईंलाई! विजय मिलोस् यात्रामा।

सभार : थाहाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *