ईहिमालयनएनपीडटकम
प्रकाशित मिति: आईतबार, माघ २६, २०७६, ०९: ३७ :००

आइसिसी लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ। चार ओभरको खेल चलिरहँदा नेपालले विना विकेट क्षतिमा १३ रन जोडेको छ।
नेपालका लागि आजको खेलको ओपनिङ सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका छन्।
यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो। त्यसैले पनि नेपाललाई आज ओमानसँग बदला लिने अवसर छ।
आजको खेलमा नेपालका लागि कमलसिंह ऐरीले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका छन्। उनलाई अविनाश बोहोराको ठाउँमा खेलाइएको छ।
शनिबार नेपालले अमेरिकालाई पराजित गर्दै सिरिजमा पहिलो जित दर्ता गरेको छ। अमेरिकाविरूद्दको खेलमा नेपालका कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धसतक बनाउने कान्छो खेलाडीको समेत कीर्तिमान बनाए।
आइसिसीले विश्वकप छनोटको लागि नयाँ रोडम्याप तय गरेपछि गत अगस्टबाट यो सिरिज सुरु भएको हो। सोही अनुसार अहिले अमेरिका र ओमान नेपाल भ्रमणमा छन्। यी प्रत्येक देशले एकआपसमा दुई-दुई खेल खेल्नेछन्।
यो समुहमा नेपालसहित ७ देश छन्। समुहको शीर्ष तीन टोली सोझै सन् २०२३ मा हुने विश्वकप छनोट चरणमा पुग्नेछन्।