राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलवार १८: ३१

ईहिमालयन

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएको हो।  राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीव घिमिरेले थाहाखबरलाई बताएका छन्।

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गरेका थिए।  छोरा राजीव घिमिरेका अनुसार उनको १०१ वर्षमा निधन भएको हो।  घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए।

उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए।

उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्‍नर-किन्‍नरी (वि.सं. २०३३) जस्ता कविता सङ्ग्रह सङ्कलित छन्। उनलाई ‘राष्ट कवि’ को उपाधिले सम्मान गरिएको थियो। १४ वर्षको उमेरमा ज्ञान पुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जना थालेका थिए।

घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे भएका थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा काम थालेका थिए। वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादकमा काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।

उनी वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा जोडिएका थिए। चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्। ‘राष्ट्र निर्माता’ जस्तो खण्डकाव्यको सिर्जना गरेर घिमिरेले साहित्य क्षेत्रमा आफूलाई सु-प्रबल राष्ट्रवादी कविका रुपमा स्थापित गराएका थिए ।

गीत र कविताका माध्यमबाट आधुनिक नेपालको जनमानसमा राष्ट्र प्रेमको भावना जागरण गराउने प्रमुख भूमिका घिमिरेले खेलेका थिए। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

कृति

माधव घिमिरे नेपाल साहित्यका बहुमुखी प्रतिभा थिए। उनको लेखनको मूल केन्द्रविन्दु भने छन्दोबद्ध कविता काव्य नै थियो। वि.सं. २००४ सालमा धर्मपत्नी गौरीको निधन र त्यसबाट उत्पन्न शोक पीडा माधव घिमिरेको जीवनको सबभन्दा ठूलो दुर्घटना थियो।

त्यसै दुर्घटनाको सेरोफेरोमा रचित गौरी (२०१५) खण्डकाव्य उनको एक विशिष्ट कृति बनेको थियो। माधव घिमिरेले नेपाली खण्डकाव्यको विकासमा उल्लेख्य योगदान दिएका थियो। उनको पहिलो खण्डकाव्य रामविलास (रचना १९९५) जीवन सङ्गीत (रचना – १९९८), सुदामा चरित्र (रचना–१९९३) हुन् भने कान्तिमती (रचना–२०१६) अझै पनि अप्रकाशित अवस्थामा छ र गौतम २०६१ः१४४) ।

उनका सुप्रसिद्ध बनेका प्रकाशित खण्डकाव्यहरू गौरी (२०१५), पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०), राहुल यशोधरा (२०३५–बाल लघुकाव्य) हुन् । उनका गीतकविता संग्रह नवमञ्जरी (१९९४), किन्नर किन्नरी (२०३३)– र चैत वैसाख (२०६०) हुन् । त्यस्तै गरेर गीतिनाटकतर्फ, घिमिरेले मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) र बालकुमारी ( ) हुन् र्।

गोविन्द’ र क्रृतम्भरा उनका लेखनारम्भ भएका तर पुरा हुन नसकेका महाकाव्य हुन्। नेपाली बालसाहित्यतर्फ उनका सनपङ्खी चरी, घामपानी बाललहरी, गौंथली र गजधम्मे आदि प्रकाशित छन् भने आफ्नै गीत आफ्नै बाँसुरी र चारु चर्चा निबन्धनिकट गद्यकृति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *