सहमति विपरीत निर्णय लिँदै ओली, प्रचण्डलाई मनाउन खुमलटारमा दूतहरुको ओइरो

प्रकाशित : २०७७ कार्तिक १४ गते शुक्रबार

ईहिमालयन

काठमाडौं, १४ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् ।

नेकपा अध्यक्षद्वयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दूतहरु खुमलटार पठाइरहेका छन् । यसअघि बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ओलीले प्रचण्डसँग भेट गर्न पठाएका थिए ।

नेताहरुलाई प्रचण्डले आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने जवाफ दिएका छन् । तर उनीहरुले ओलीसँग सम्वाद गर्न आग्रह गर्दै आएको स्रोतको दावी छ ।

कात्तिक ४ मा नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डबीच कर्णाली विवाद समाधानबारे लामै कुरा भएको थियो । तर आफूसँग भएको सहमति विपरीत ओलीले निर्णय लिएको भन्दै प्रचण्डले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आएका छन् । मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग सम्वादमा बस्न मानिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *