जसपाको ठाकुर–महतो समुहका अगाडि तीन विकल्प !

ईहिमालयन

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार

१२ साउन, जनकपुर । जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव समुहलाई दिएपछि महन्थ ठाकुर–राजेन्द्र महतो समुहको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी शुरु भएको छ । राजनीतिका पुराना खेलाडी ठाकुर र महतो यतिबेला इतिहासमै सबैभन्दा कमजोर बनेको राजनीतिक बिश्लेषकहरुको बुझाई छ ।

निर्वाचन आयोगले पार्टीको कार्यकारिणी समितिमा यादव समुहको बहुमत रहेको भन्दै आधिकारिताको टुङ्गो लगाएपछि ठाकुर–महतो समुह यतिबेला घर न घाटको भएको छ ।

जसपाको आधिकारिता यादव पक्षले पाएपछि ठाकुर–महतो समुह अब जसपार्टीभित्रै बसेर सांसद पद जोगाउने कि अर्काे पार्टी गठन गर्ने भन्नेमा अन्यौलमा छ । निर्वाचन आयोगबाट आधिकारिता पाएपछि यादव पक्षीय नेताहरु मिठाई बाँडिरहँदा ठाकुर पक्षीय नेताहरु आफ्नो समुहको आगामी भविष्यबारे साेंचिरहेका छन् । निर्वाचन आयोगबाट आफुहरुले सोचे अनुसारको निर्णय नआएपछि निराश बनेका ठाकुर–महतो समुहले अब कसरी अघि बढ्ने भन्ने विषयमा मुख नखोले पनि ती समुहसँग केबल तीन वटा विकल्प मात्र रहेको राजनीतिका जानकारहरु बताउँछन् ।

खासगरी प्रदेश २ को राजनीतिमा बलियो पकट रहेको जसपा विभाजनको अवस्थामा पुगेपछि संघीय सांसदसहित प्रदेशसभा र स्थानीय तहमा रहेका ठाकुर–महतो निकट जनप्रतिनिधिहरु समेत आफ्नो भविष्यलाई लिएर चिन्तित बनेका छन् । हुन त पार्टी आधिकारिताको बिषयमा निर्वाचन आयोगमा छलफल चलिरहँदा ठाकुर–महतो समुहले तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) ब्युँताउने कसरत शुरु गरेको थियो ।

त्यसैले ती समुहले राजपा ब्युँताउन सक्ने सम्भावना छ । तर राजपा ब्युँताए ठाकुर–महतो समुहमा रहेका सांसदहरु पद गुम्न सक्ने कानुनविदहरुको बुझाई छ । निर्वाचन आयोगले नै अर्काे पार्टी बनाउन निर्देशन दिए मात्र ठाकुर–महतो समुहको सांसद पद रहन सक्ने संभावना छ अन्यथा अर्काे पार्टी बनाए ती समुहका सांसदहरुको सांसद पद समाप्त हुन सक्छ ।

निर्वाचन आयोगले यस्तो निर्णय लिने सम्भावना अत्यन्तै न्युन छ । यस्तो अवस्थामा ठाकुर–महतो समुहसँग पार्टीभित्रै बसेर सांसद पद जोगाउनुपर्ने पहिलो बिकल्प छ । त्यो बिकल्प नै सहज हुन सक्ने राजनीतिक बिश्लेषक तुलनारायण साह बताउँछन् ।

त्यसैले पद जोगाउनका लागि ठाकुर–महतो समुहमा रहेका सांसदहरु पनि यादव पक्षमा आउन सक्ने सम्भावना छ । यस्तोमा यादव समुह अझ शक्तिशाली हुने र ठाकुर–महतो समुह कमजोर बन्न सक्ने देखिन्छ । प्रदेश २ को प्रदेशसभामा रहेका ठाकुर–महतो समुहका प्रदेशसभा सदस्यहरु पनि यादव पक्षमा गइसकेका छन् । राजेन्द्र महतोको अत्यन्तै विश्वासपात्र २ नं प्रदेश सभाका सदस्य मनिष कुमार सुमन, नवलकिशोर साह, राय यादव कित्ता परिवर्तन गरी यादव पक्षमा गइसकेका छन् । ठाकुर–महतो समुहका प्रदेशसभा सदस्यहरु जितेन्द्र सोनल, सुरेश मण्डल, डिम्पल झा लगायतका सांसदहरु पनि पद जोगाउनकै लागि भएपनि यादवकै पक्ष जाने आन्तरिक रुपमा छलफल भइरहेको श्रोतले जनाएको छ ।

प्रदेश २ मा जसपाको ५५ जना प्रदेशसभा सांसद छन् । ती मध्ये यादव समुहकै बर्चस्व छ । पार्टीको आधिकारिता पाएसँगै यादव पक्ष प्रदेश २ सभामा अझ शक्तिशाली हुने बिश्लेषण भइरहेको छ ।

ठाकुर–महतो समुहसँग दोश्रो बिकल्प नयाँ पार्टी दर्ता गराउनुपर्ने हुन्छ । तर अहिले त्योे सम्भावना देखिदैन । ठाकुर–महतो समुहले नयाँ दल दर्ता गराउनु भन्दा पनि निर्वाचन आयोग बिरुद्ध सर्वाेच्च अदालतमा दर्ता गराएको रिटमा अदालतको फैसला कुर्ने सम्भावना छ । पार्टीको आधिकारिकता टुङ्गो लगाउन हेड काउण्टका लागि पार्टीका कार्यकारिणी सदस्यहरुलाई उपस्थित हुन निर्वाचन आयोगले दिएको निर्देशन विरुद्ध ठाकुर–महतो समुहले सर्वाेच्चमा रिट दर्ता गराएको छ ।

उक्त रिटमा तत्काल आदेश दिन सर्वाेच्चले अस्वीकार गरेको थियो । तर सर्वाेच्चको अन्तिम आदेश कुर्ने र निर्वाचन आयोगको आधिकारिकता दिने निर्णय बिरुद्ध पनि रिट दर्ता गराउने सम्भावना छ । सर्वाेच्च अदालतको आदेशपछि मात्रै आफुहरु नयाँ पार्टी दर्ता गराउने वा नगराउने भन्ने बिषय टुङ्गो लाग्ने ठाकुर–महतो समुहका नेता लक्ष्मणलाल कर्णको भनाई छ ।

उनीहरुसँग तेश्रो बिकल्प निर्वाचनसम्म कुर्ने र निर्वाचनका समय कुनै दलमा प्रबेश गरेर निर्वाचनमा यादव समुहलाई काउण्टर दिन सक्छन् । यसरी विश्लेषण गर्दा ठाकुर–महतो समुहसँग अगामी भविष्यका लागि यी तीन बिकल्प मात्र बाँकी छन् ।

यसो त राजनीति व्यापक सम्भावनाको खेल हो भन्छन् । त्यसैले यही नै हुन्छ भन्न गाह्रो छ । तसर्थ ठाकुर–महतो समुह अब कसरी अघि बढ्छ भने कुरा हेर्न केही समय पर्खनै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *