महामारीमा स्वदेश फर्किँदाको सजाय : लालाबालासहित खुल्ला आकासको बास

ईहिमालयन

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार

विराटनगर , १८ बैशाख । बिहानको समय। सिमसिमे वर्षा। विराटनगर बसपार्कको प्रदुषण। टर्मीनल छेवैको एउटा कुनामा ओत लागेर बसेका सुर्खेतका शेरबहादुर विश्वकर्माका दम्पत्ति सहित चार छोराछोरी। एउटा नानी आमाको काखमा। अर्को  चिसो भुइँमा पानीको बोतल टोक्दै गरेका। अलिक हुर्किएका नानीहरु बा ले पसलबाट केही ल्याउलान् र खाउँला भन्दै आशा भरिएका आँखा डुलाइरहेका छन्।

परिवारसहित रोजीरोटीका लागि भारत पुगेका सुर्खेत चौकुनेका ४५ वर्षीय शेरबहादुर तीन दिन लामो यात्रापछि शुक्रबार बिहान नेपाल–भारत सीमानाका जोगबनी आइपुगेका थिए। दुवै मुलुकमा फैलिएको कोरोनाले सीमा क्षेत्रमा आवागमन कडा पारिएको थियो। भारतबाट आएका विश्वकर्मा परिवारलाई सीमा नाकामै स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गरे।

परीक्षण गर्दा श्रीमतीको रिपोर्ट पोजेटिभ देखियो। बिहान ८ बजे नेपाल प्रवेश गरेका उनीहरुलाई दिनभरी सीमामै रोकियो। उनीहरुलाई कहाँ पठाउने भन्ने विषयमा सरकारी निकायले कुनै निर्णय गरेन। उनीहरु राति ८ बजेसम्म सीमा क्षेत्रमै अलपत्र बसे। प्रदेश सरकारले होल्डिङ सेन्टर बनाएको थिएन। साँझ पर्दै गएपछि उनीहरुलाई रोकेर राखेका स्वास्थ्यकर्मी आ–आफ्नो घर लागे। उनीहरु भने त्यही अलपत्र परे। त्यो परिवारको समस्या कसैले सुनेन। राति उनीहरु हिँड्दै विराटनगर आए।

बस्ने स्थानको अभावमा बसपार्कको खुल्ला आकाशमा रात बिताए। तीन दिन लामो यात्राको थकान। भएको पैसा बाटैमा सकियो। आफ्नो भन्दा पनि कलिला छोराछोरीलाई के खुवाउने भन्ने सन्ताप थियो शेरबहादुरलाई सीमा क्षेत्रबाट आफ्नो देश छिर्दा शेरबहादुरको मुहारमा छुट्टै खुसी छाएको थियो। तर, दिनभर दुधे बालकसहित चार जना लालाबालाको बिजोक हुँदा पनि कसैबाट सामान्य मानवीय व्यवहार नभेटेपछि उनलाई परदेश र आफ्नो देशमा केही फरक लागेन।

‘आफ्नो देश आइपुग्दा धेरै खुसी लागेको थियो। तर, नाकामा अलपत्र पारेर दुधे बालकसहित अलपत्र छोड्दा त आफ्नो देश जस्तो महशुस पनि भएन’ शेरबहादुरले बिलौना पोखे,‘के गर्नु रोजीरोटीका लागि भारत पुग्नु मेरो मात्रै बाध्यता होइन। हामी कर्णालीवासी सबैको बाध्यता हो।’ शेरबहादुरका परिवार कोरोनाको हल्लाभन्दा अगाडि नै भारत छिरेका थिए।

सँधै भरीको अभाव, सन्तानको भविश्यको चिन्ता हटाउन भारत छिरेको शेरबहादुर दम्पतीको रोजिरोटी राम्रैसँग चलिरहेको थियो। एकाएक कोरोनाको हुरीले बन्दै गरेको उनीहरुको भविष्यका स्वर्णिम सपना नै उडाइदियो। ‘नहुनेलाई जहाँ गए पनि सुख नहुने रहेछ’ दुःखका पोका फुकाउँदै उनीले सुनाए,‘नेपाल बसौँ कमाई छैन। खेती गरौँ तीन महिना खान पुग्ने जमिन छैन। विदेश जाँउ पैसा छैन।

भारतमा सुरक्षा गार्ड गर्दा कमाई राम्रै हुन्थ्यो। त्यो पनि कोरोनाले लग्यो।’ भारतीय सीमा नाकासँग जोडिएको प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा भारतबाट नेपाल प्रवेश गर्नेहरुका लागि न होल्डिङ सेन्टरको व्यवस्था छ, न क्वारेन्टाइन। 

हाम्रो अभियानको साथ 

अलपत्र परेका उनीहरुलाई हाम्रो अभियानले साथ दिएर घर पठाउने पहल गरेको छ। लामो समयको यात्रा पछि विराटनगर आएर अलपत्र परेका उनीहरूलाई हाम्रो अभियानको टिमले यातायात साथै खानेकुरा समेतको बन्दोबस्त गरेर सुर्खेत पठाएको अभियानको नेतृत्व गरिरहेका वसिम आलमले बताए।

‘सानासाना नानीहरू रहेछन्। उनीहरूलाई हाम्रो अभियान टिमको तर्फबाट केही खानेकुरा व्यवस्था गरेका छौं’ आलमले भने,‘घरसम्म पुग्नका लागि सहज वातावरण बनाई यातायातको व्यवस्था गरेर हामीले उनीहरुलाई सुर्खेत जाने प्रबन्ध गरेका छौं।’ हाम्रो अभियानबाट पाएको सहयोगले मानवता जिवित रहेछ भन्ने महसुस भएको शेरबहादुरले बताए।

बालबच्चासहित भोकै राति ८  बजेसम्म सीमानाकामा बस्नुपर्दा उनलाई आफ्नै देश पराई लाग्यो। मरे आफ्नै देशमा मरौंला भन्ने निधो गरेर नेपाल फर्केका शेरबहादुर दम्पतिलाई नेपालमा समेत बन्दाबन्दी हुँदैछ भन्ने पत्तो थिएन।  

राति बालबच्चासँग कहाँ जाने ? के  गर्ने भन्ने चिन्ताले पिरोलेको उनलाई घर पुगिएला भन्ने आस विराटनगर बस पार्कमा नै मरिसकेको थियो। ‘उहाँहरुले खानाको बन्दोबस्त गरिदिएका छन्। घरसम्म पुग्न गाडी मिलाइदिए। यस्तो देख्दा मानवता अझैं मरेको रहेनछ जस्तो लाग्यो।’

साभार : थाहाखबर


Leave a Reply

Your email address will not be published. Required fields are marked *